जिल्लाको फैसला उल्ट्याउँदै अफताब आलमलाई उच्च अदालतले दियो सफाइ
काठमाडौं - कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।
इँटाभट्टामा व्यक्तिलाई जिउँदै जलाएको र बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई उच्च अदालतले सफाइ दिएको आलमका कानून व्यवसायी सरोजकृष्ण घिमिरेले बताए ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।
२०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित पाँच जना घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि लागेको थियो ।
आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी थियो ।
फेसबुक पेज Like गर्नुहोस