काठमाडौं, चितवन - यहाँका विद्यालयले नयाँ शैक्षिक सत्रको लागि अघिल्लो वर्षको नतिजा तयारी गर्दै गर्दा पाठ्यपुस्तक आइसकेको छ । आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारीमा यहाँका विद्यालय छन् । जनक शिक्षा सामग्री केन्द्र भरतपुरका निमित्त प्रमुख केदारराज विष्टका अनुसार अहिले यस केन्द्रमा कक्षा ४ देखि ११ सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेका छन् ।

उनका अनुसार केन्द्रमा अहिले १४ लाख ३५ हजार ९१८ थान पुस्तक आइसकेका छन् । उनले भने, ‘कक्षा ६ मा तीन विषयमा पाठ्यपुस्तक परिवर्तन भएकाले आउन बाँकी रहेको छ, ती पुस्तक पनि यही जेठ २३ गते आइतबारसम्म आइपुग्ने छन् ।’

पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको उनले बताए । तीन विषयका ७५ हजार किताब आउन बाँकी रहेको हो । यस केन्द्रले चितवनसहित बारा, पर्सा, रौतहट, मकवानपुर, बर्दघाट–सुस्ता पूर्व नवलपरासी, बर्दघाट–सुस्ता पश्चिम नवलपरासी, तनहुँ र गोरखा जिल्लामा पुस्तक उपलब्ध गराउँदै आएको छ ।

ती जिल्लाका ३४ व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको विष्टले बताए । कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएमा किताबको अभाव नहुने उनको भनाइ छ ।

केन्द्रले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइ र वितरणका लागि निजी क्षेत्रलाई जिम्मा दिएकाले केन्द्रले वितरण नगर्ने उहाँले जानकारी दिए । आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ । अहिले केन्द्रको भरतपुर शाखामा रु १२ करोड ७९ लाख ९४ हजार ४९४ का पुस्तक आइसकेका छन् ।

जिल्लामा हाल कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीको कूल सङ्ख्या एक लाख ५० हजारभन्दा बढी रहेको छ । त्यसमध्ये सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७५ हजार ३३९ विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पुर्याउने छ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ । केन्द्रले आइसकेका पुस्तक यही जेठ २४ गतेदेखि वितरणको प्रक्रिया सुरु गर्ने जनाएको छ ।