काठमाडौं - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै सांसद गौतमले प्रधानमन्त्रीको कार्यशैलीले गर्दा नेकपमा विवाद उत्पन्न गराएको बताएका हुन् । प्रधानमन्त्री ओलीलाई आफूले धेरैपटक सम्झाएको र सुझाव दिएको तर त्यसलाई वेवास्ता गरेको समेत उनले बताए । उनले आफू ओलीको कटु आलोचक भएको पनि बताए ।

‘‘प्रधानमन्त्रीको म कटु आलोचक हो । उहाँकै कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो’ उनले भने, ‘ मैले उहाँलाई धेरैपटक सुझाव दिए तर, वेवास्ता गर्नुभयो ।’

उनले उसअघि आफूलाई राष्ट्रिसभामा लगेकोमा राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन दलका नेतालाई धन्यवाद दिँदै आफ्नो जीवन कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको बताएका थिए । ‘७३ वर्षको उमेरमा ७ वर्ष घटाएर बाँकी जीवन मैले कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु’ उनले भने ।