राजासहितको नवीन समझदारीको विकल्प छैन : राजेन्द्र लिङ्देन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्ने बारेमा हिजो (जेठ १५ गते) नै रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन् ।
राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन बिजुलीबजार पुलमा उभिएर पत्रकारसँग कुरा गर्दै लिङ्देनले अब राजासहितको नवीन समझदारीको विकल्प नरहेको दावी गरे ।
उनले भने–‘राजतन्त्र र गणतन्त्रको बारेमा हिजो एक प्रकारले जनमत संग्रहजस्तै भयो । प्रधानमन्त्रीले नै आह्वान गर्नुभएको गणतन्त्र पक्षको प्रदर्शनमा कुन प्रकारको उपस्थिति थियो र गणतन्त्रको विपक्षमा कुन प्रकारको उपस्थित थियो भन्ने देखियो । म प्रधानमन्त्री र दलका नेताहरुलाई कब्जा गर्छु, नियन्त्रण गर्छु, निस्तेज पार्छु भन्ने जस्ता शब्द प्रयोग गर्नुको साटो वार्ता र सहमति खोज्न आग्रह गर्छु ।’
दोस्रो दिनको आन्दोलमा प्रदर्शनकारीहरुले देश जोगाउन राजा चहियो भन्दै नारा लगाएका थिए । यसैबीच, राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले गरेको प्रदर्शनका कारण काठमाडौंको यातायात प्रभावित भएको छ ।
माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडकबाट हिड्दा यातायात प्रभावित भएको छ । यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।
आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका राजावादीहरु सहभागी छन् ।
यसअघि गत चैत्र १५ गते पनि काठमाडौँको तीनकुनेमा राजसंस्थावादी समूहले प्रदर्शन गरेको थियो । त्यसक्रममा राजावादीहरुको आन्दोलन हिंसात्मक बनेपछि एक पत्रकार सहित दुई जनाको मृत्यु समेत भएको थियो । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूले बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस