काठमाडौं-नेकपा एमाले धनुषामा विवाद भएको छ । ८औं जिल्ला अधिवेशनको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद भएको हो ।

विवाद हुँदा कुर्सी हानाहान भएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका छन् ।

गत वैशाख २० देखि जनकपुरमा अधिवेशन जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।

भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।