काठमाडौं,एजेन्सी - सामाजिक सञ्जाल ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट @realDonaldTrump सधैँका लागि बन्द गरिदिएको छ।

‘हालै उनले गरेका ट्विटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौ,’ ट्विटरले लेखेको छ ।

यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो । त्यतिबेलै ट्वीटरले यदि यस प्लाटफर्मको नियमलाई तोडेमा सधैंका लागि बन्देज लगाइने चेतावनी दिएको थियो ।

गत बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसदभित्रै हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको थियो । बाइडेनको जित अस्वीकार गर्न ट्रम्पकै उक्साहटमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।