प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं भन्नुस्, नेतृत्वका लागि युवापुस्ता तयार छ : मन्त्री पुन
काठमाडौं - उर्जा मन्त्री वर्षमान पुनले सरकार र पार्टीको नेतृत्व गर्न युवापुस्ता रहेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका पुनले पार्टीका दुवै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताए।
रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन् । उनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’
नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको बताए । ‘यो विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय हो,’ उनले भने ।
उनले नेकपाभित्रको बहसले सिंगो देशको राजनीति प्रभावित भएको भन्दै उनले सत्तारूढ पार्टीको बहस भएकाले यस्तो भएको बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको बताउँदै आएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस