काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक ‘कू’ गरेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक कू गरेको र उक्त कदममा चुप लागेर नबस्ने बताएका हुन् । ‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गरे’ उनले भने, ‘ संविधानमाथि प्रहार गर्दा हामी चुप लाग्ने वाला छैनौँ । सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्छ ।’

प्रधानमन्त्रीले आन्तरिक कलह मिलाउन नसकेको रिसमा प्रतिनिधि सभा भंग गरेको पनि उनको आरोप छ । ‘नेकपा भित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद भंग गरेर रिस पोखे’ उनले भने । वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि दिएको म्यान्डेटअनुसार काम गर्न नसकेको पनि उनले बताए ।