बाजुराको बाम्का बजारमा आगलागी,३५ पसल जलेर नष्ट
बाजुरा - शुक्रबार बुढीगंगा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन् । आगलागीबाट ३५ पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उनले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण संकलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको बताए । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको रु एक करोड ८० लाख क्षति भएको पाइएको छ ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मूल्य खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
शुक्रबार अपराह्न ३ः३० बजे ग्यास सिलिण्डर पड्किएर आगलागी भए पनि स्थानीय तहसँग अग्नी नियन्त्रण दमकल नहुँदा ठूलो क्षति भएको पीडितहरुले गुनासो गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस