काठमाडौं,रोल्पा - एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय श्रीमान् काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठीक नभएकी मीनाले श्रीमान् काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

श्रीमती मीनाले श्रीमान् कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगेर अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए । अभियुक्त मीनालाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।