काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार तीन सय ३० पुगेको छ ।

छिमेकी मुलुक भारतमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । शनिवार विहानसम्म प्राप्त समाचारअनुसार भारतमा ६४ लाख ७३ हजार पाँच सय ४४ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको र  सङ्क्रमणबाट एक लाख आठ सय ७५ जनाको मृत्यु भईसकेको छ ।  

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४८ लाख ३६ हजार २८ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ५८ लाख ९७ हजार नौ सय ९६ जना निको भएका छन् भने करिब ७९ लाख चार हजार सात सय दुई मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजार तीन सय २५ मानिसको स्वास्थ्य अवस्था निकै जटिल छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७५ लाख ४९ हजार नाघिसकेको छ ।

अमेरिकामा मात्रै दुई लाख १३ हजारको पाँच सयको मृत्यु

कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १३ हजार पाँच सय २४ को मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । 

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४८ लाख ८२ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४५ हजार ४३१ जनाको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार आठ सय ९१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।  

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोना भाइरसको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडी एकै दिनमा  २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार तीन सय ५२ जनाको मृत्यु भएको थियो 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धको घोषणा गर्न थालिएको छ ।