काठमाडौं - दोलखामा हवाई फायर भएको छ । मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे । 

निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको प्रहरीले जनाएको छ । अहिले सामान्य नाराबाजी भइरहेको छ । 

स्थिति तनावग्रस्त बनेपछि मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका–४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

निर्वाचन सुरक्षामा संवेदनशील जिल्लाका रुपमा विश्लेषण गरिएको दोलखामा प्रहरी प्रधान कार्यालयले एसएसपी सोमेन्द्रसिंह राठौरलाई खटाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत राठौरलाई चुनौतीपूर्ण जिल्लाको नेतृत्व दिएर खटाइएको हो।