महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला
काठमाडौं - तत्कालिन सभामुख कृष्णप्रसाद महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला परेकी छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।
बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । तर, त्यसबारे प्रहरीले कुनै जानकारी गराएको छैन । शाही तिनै महिला हुन्, जसले संसद सचिवालयमा कार्यरत रहँदा तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’ गरेको गम्भीर आरोप लगाएकी थिइन् ।
२०७६ असोजमा रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।
तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। शाहीको गम्भिर आरोपले महरामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा नै चल्यो । तर, अदालती बयानक्रममा शाहीले आफ्नो प्रारम्भिक आरोप फेरेकी थिइन् । उनले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी थिइ ।
पीडित महिलाले बयान फेरेकाले २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो । यद्यपी उक्त बेला सभामुख महरा शाहीको कोठामै पुगेको भिडियोहरु भने सार्वजनिक भएका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस