काठमाडौं - अहिले कोरोना भाइरसको महामारीले विश्वनै अस्तव्यस्त बनाइसकेको छ ।

छोटो समयमै ११० देशमा फैलिएको सो भाइरसको कारण अहिलेसम्म ४९४८ जनाको मृत्यु भइसकेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोनाले एक महिनामै विश्वभर फैलिएको हो ।

यसको संक्रमणबाट चीनपछि धेरै युरोपेली देश इटाली प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड १९ नाम दिएको यो रोगलाई विश्व महामारीको घोषणा गरेपछि यसबारे चासो र चिन्ता झन् बढेको छ।

कोरोनाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइरहँदा चीनले भने कोरोना फैलिनुमा अमेरिकी सेनाको हात रहेको दावी गरेको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालय प्रवक्ता झाओ लिजियानले अमेरिकी सैनिकले वुहानमा कोरोना भाइरस ल्याएको भनी छापिएको एउटा सामग्रीलाई ट्वीट गरेका छन्।

चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् । वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

उक्त वेवसाइटले गत अक्टुबरमा वुहानमा भएको मिलिटरी वर्ल्ड गेम्समा सहभागी अमेरिकी सैनिकमा कोरोना भाइरस भएको लेखेको छ। उक्त प्रतियोगितामा १ सय देशका सैनिक सहभागी थिए। अहिले चीनमा विदेश मन्त्रालयका प्रवक्ताको उक्त ट्वीटको चर्चा छ।