भ्रममा नपर्नुस् वार्ता सफल भएको छैन, आज पनि आन्दोलन जारी छ : शिक्षक महासंघ
काठमाडौं-विगत २७ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको नेपाल शिक्षक महासङ्घले आजको आन्दोलन पनि जारी राखेको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलन जारी रहने जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मङ्गलबार पनि आन्दोलन जारी रहेने बताउँदै आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ ।’
उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।
सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए ।
महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।
शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस