काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको  भ्रमणलाई अनुमोदन गरेको हो ।

गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।  प्रधानमन्त्री देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाको द्विपक्षीय वार्ता हुने जनाइएको छ । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ । पुस २३ गते सेवा अवधिका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि सरकारले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हो ।  

बैठकले भारतसँग मल खरिद सम्झौता गर्ने निर्णय पनि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।