रामचन्द्र पौडेलले पुल उद्घाटन गर्न लागेपछि दमौलीमा नेकपाको विरोध, निषेधाज्ञा जारी
काठमाडौं - जिल्ला प्रशासन कार्यालय, तनहुँले ब्यास नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले व्यास-१ को मोटरेबल पुल निर्माण भएको क्षेत्र तथा आसपासका क्षेत्रमा मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
ब्यास नगरपालिकाको वडा नं १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखेला पुल उद्घाटन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । तर, पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निकालिएकाे छ ।
कांग्रेस निकटहरु पुल उद्घाटन गर्ने तयारीमा छन् भने नेकपा निकटहरु कुनै पनि हालतमा उद्घाटन गर्न नदिने पक्षमा उभिएका छन् । त्यसपछि पक्ष र विपक्षमा झडप हुने देखिएकाले निषेधाज्ञा गर्ने सुरक्षा समितिको निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए । हाल त्यस क्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।
नेता पौडेलले मंगलबार मात्र ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गरेका थिए । उक्त उद्घाटनप्रति पनि नेकपा तनहुँले विरोध जनाएको थियो ।
फेसबुक पेज Like गर्नुहोस