काठमाडौं - निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार ओली पक्षीय नेताहरुसँग कुरा गरेपछि आयुक्त ईश्वरीप्रसाद पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पक्ष नआएकोसमेत बताए ।

‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन,’ आयुक्त पौड्यालले भने ।

यसअघि दुवै पक्ष राजनीतिक दलसबन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरण गरिदिनु भनेर आएकाले आयोगले त्यसलाई अस्वीकार मात्र गरेको उनले बताए । पौड्यालले भने, ‘नेकपा राजनीतिक ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न आएको पनि छैन । यसअघि दफा ५१ अनुसार आएको हो । त्यो भनेको अभिलेखीकरणका लागि हो ।’

चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको उनले बताए।