काठमाडौं - नेपाली कांग्रेसले संसद विघटनविरुद्ध घोषणा गरिएको आन्दोलन सर्वसम्मत निर्णय भएको बताएको छ ।

केहि संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलन बारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको भन्दै बुधबार कांग्रेसले एक विज्ञप्ती जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध निरन्तर आन्दोलनमा रहेको र त्यसबारे कुनै अन्यौल नरहेको जनाएको छ ।

‘संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएका हुन्, माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नु भएर बैठकले सर्वसम्मतिले नै पारित गरेको छ।’ विज्ञप्तीमा भनिएको छ ।