काठमाडौं - अविरल वर्षापछि बागमती नदीमा आएको बाढीले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ ।
बागमती किनारबाट हटाएर उक्त सेन्टरमा राखिएका विस्थापित सुकुम्बासीहरू फेरि बाढीको मारमा परेका हुन् ।
बाढी राति नै होल्डिङ सेन्टरभित्र पसेपछि कोठाहरू जलमग्न भएका छन् । डुबानका कारण पीडितहरूको खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोगका सामग्री तथा अन्य बन्दोबस्तीका सामानमा क्षति पुगेको छ। कतिपयले आकस्मिक रूपमा सेवन गरिरहेका औषधिसमेत निकाल्न नपाएको गुनासो गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ राति १ः३८ बजे सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ३० जना र नेपाल प्रहरीका ३० जना गरी ६० सदस्यीय संयुक्त उद्धार टोली विपद् व्यवस्थापन सामग्रीसहित परिचालन गरिएको थियो।
सुरक्षाकर्मीहरू राति २ बजेपछि घटनास्थलमा पुगेर बोटको सहायताले उद्धार अभियान सञ्चालन गरेका थिए। सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सारिएको प्राधिकरणले जनाएको छ।

.gif)



