काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको बताएका छन् ।

संसद भवन वानेश्वरमा बोलाइएको नेकपा सांसदहरुको बैठकमा भाग लिन पुगेका नेता नेपालले पत्रकारहरुको जिज्ञासामा संसद विघटन नभएको प्रतिक्रिया दिएका हुन् । ‘संसद विघटन भएको छैन। संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन’ उनले भनेका छन् ।

उनले राष्ट्रपतिले पनि बाटोमा हिँड्दै गर्दा संसद् विघटन गरेको टिप्पणी गरे। ‘राष्ट्रपतिलाई पनि त्यो अधिकार छैन । बाटोमा हिँड्दाहिँड्दै कसैले विघटन गरेर संसद विघटन हुन्छ ?’ यनले भनेका छन् ।

ओलीले संसदीय दलको नेता बन्ने योग्यता गुमाइसकेको पनि नेता नेपालले बताए । नेकपा भित्रका ९० सांसदले हस्ताक्षर गरिसकेको, थप २ मन्त्रीले हस्ताक्षर गर्ने र राष्ट्रियसभाका २४ सदस्यले हस्ताक्षर गरेको अवस्थामा ओली दलको नेता रहन योग्य नभएको उनको भनाई छ ।