काठमाडौं- गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

मन्त्री लेखकले प्रधानमन्त्रीको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेका छन् ।उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ ।

यसैबीच गृहमन्त्रीको निर्देशन लगत्तै उक्त विषयको छलफलका लागि गृहमन्त्रालयमा आकस्मिक बैठक बस्ने भएको छ ।

गृहमन्त्री लेखकले नै स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न आकस्मिक बैठक डाकेका हुन् ।

गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहितको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

आज सोमबार साढे एक बजे गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने अनुसन्धानका लागि निर्देशन दिइने बताइएको छ ।