काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला, वाग्मतीलगायतका नदीमा बहाव बढ्ने जनाएको छ ।

महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला र वाग्मती नदीमा बहाव उल्लेख्य रुपमा बढ्ने र सहायक नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने पूर्वानुमान गरेको हो । ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाद्वारा शनिबार बिहान जारी बुलेटिनमा शनिबार र आइतबार बारा, पर्सा, मकवानपुर, सिन्धुली, उदयपुर, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र आसपास मध्यमदेखि भारी वर्षा भई समग्र प्रदेश नम्बर–१ र २ का तराई र चुरेबाट बहने नदीमा बहाव उल्लेख्य बढ्ने छ ।

त्यस्तै महाशाखाले केही नदीको बहाव आकस्मिक रुपमा बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा रहने र सो स्थान भई यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन सूचित गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वका थोरै तथा पश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

नेपालमा सामान्यतया जून १० बाट मनसुन सुरु भएर सेप्टेम्बर २३ सम्म रहन्छ । तर, पछिल्ला केही वर्षयता ढिलो गरी बाहिरिँदै आएको मनसुन यस वर्ष अझैसम्म सक्रिय छ ।

अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा मनसुनी गतिविधि हाल सक्रिय रहेको र अझै केही दिन सक्रिय रहने महाशाखाले जानकारी दिएको छ ।