नागरिक सेवामा नयाँ इतिहास रच्दै कागेश्वरी मनोहरा,एकीकृत सेवा प्रणालीको सुरुवातसँगै नागरिकमैत्री सेवा प्रवाहको नयाँ योजना
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले नागरिक सेवामा नयाँ इतिहास रच्दै ‘एकीकृत सेवा प्रणाली’ सुरु गरेको छ। नगरका सम्पूर्ण शाखा प्रमुखहरू एउटै स्थलमा बसेर सेवा प्रदान गर्ने यो प्रणालीको औपचारिक सुरुवात नगरप्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा गरिएको हो।
यस प्रणाली अन्तर्गत अब सेवा लिन आउने नागरिकले भौंतारिनुपर्ने, अनेकौं कक्षाको ढोका ढक्ढक्याउनुपर्ने झन्झट अन्त्य भएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिराम नागीलाको व्यवस्थापनमा सुरु गरिएको यो सेवा पद्धति समन्वय, सहकार्य र पारदर्शिताको नमुनाका रूपमा प्रस्तुत भएको छ।
नगर प्रमुख कार्कीले उद्घाटन समारोहमा बोल्दै भने, “हामीले यो सेवा प्रणालीमार्फत जनताको बहुमूल्य समयको सम्मान गरेका छौं। अब सेवा लिन सहज, छरितो र जनमैत्री ढंगले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनु भयो ।
यस्ता एकीकृत सेवा प्रणालीहरू धेरै विकसित मुलुकहरूले पहिले नै अपनाइसकेका छन्। सिङ्गापुर, एस्टोनिया, र स्क्यान्डिनेभियन मुलुकहरूले डिजिटल एकद्वार प्रणालीमार्फत नागरिकलाई छिटोछरितो सेवा दिँदै आएका छन्। कागेश्वरी मनोहराको यो अभ्यास विशेष रूपमा व्यवस्थित, जनकेन्द्रित र स्थानीय आवश्यकता अनुसारको नमुना हो। प्रमुख प्रशासकीय अधिकृत हरिराम नागीलाका अनुसार कार्यालयको संरचना मात्र हैन, सोच र संस्कार पनि परिवर्तन गर्ने सुरुवात गरेका बताउनुभयो ।
नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य
एकीकृत सेवा प्रणालीले विशेषगरी जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, महिला र सर्वसाधारणलाई लक्षित गरी सेवा सहज बनाएको छ। यसले समावेशी शासनको अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।कागेश्वरी मनोहरा नगरपालिकाको यो कदम नयाँ सोच, नयाँ अभ्यास र सेवा प्रवाहको रूपान्तरणतर्फको ऐतिहासिक पाइला हो। यस्तो सकारात्मक अभ्यास अरू नगरपालिकाहरूलाई पनि सिक्ने प्रेरणा दिनेछ भन्ने विश्वास लिईएको छ।
फेसबुक पेज Like गर्नुहोस