काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आउँदो आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको स्रोतले बताएको छ । बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने बताइएको छ ।

लामो समयदेखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त पद रिक्त छन् । यस्तै, राष्ट्रिय दलित आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग लगायतका संवैधानिक निकायहरु पदाधिकारी बिहीन भएका छन् ।

संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् छ । जहाँ प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ ।