काठमाडौं ,एजेन्सी - सन् २०२४ मा भएको जनविद्रोहपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि बंगलादेशमा पहिलोपटक आज संसदीय निर्वाचन भइरहेको छ ।

आन्दोलनका कारण सत्ता ढलेपछि बंगलादेशले नयाँ सरकार चयन गर्न ऐतिहासिक मतदान प्रक्रिया सुरु गरेको हो ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर बिहानैदेखि मतदान सुरु भइसकेको छ र यो प्रक्रिया स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेसम्म चल्नेछ।

यस निर्वाचनमा १२ करोडभन्दा बढी मतदाता सहभागी भइरहेका छन्। निर्वाचन आयोगका अनुसार कुल १२ करोड ७७ लाख मतदाता मताधिकार प्रयोग गर्न योग्य छन् ।

सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध विद्यार्थी आन्दोलन चर्किँदै गएपछि सन् २०२४ अगस्ट ५ मा स्थिति नियन्त्रणबाहिर पुगेको थियो।

आन्दोलन उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना हेलिकप्टरमार्फत भारत भागेकी थिइन्। हाल पनि उनी भारतकै अज्ञात स्थानमा रहेको बताइएको छ।

हसिनाले देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। यही अन्तरिम सरकारले आजको निर्वाचन गराएको हो ।

१४ सयभन्दा बढीको ज्यान जाने गरी भएको आन्दोलन र शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक भइरहेको निर्वाचनलाई ऐतिहासिक मोड का रूपमा हेरिएको छ। यस कारण बंगलादेशको चुनावमा विश्व समुदायको विशेष चासो देखिएको छ।