काठमाडौं,सिन्धुली - दलानमा बोराको धागो निकाल्दै गरेकी उनको अनुहार चाउरी परको छ । मुखमा दाँत छैन । जोडले बोल्दा मात्र सुन्ने । आँखा पनि राम्रो नदेख्ने । कमलामाई नगपालिका १० जाहानटोलकी १०७ वर्षीया कुमारी सुनुवार (कली) हेर्दा कमजोर देखिए पनि उनको काम गर्ने शक्ति र जाँगर भने कम भएको छैन । घरको दलानमा बसेर दिनभर बोराको धागो निकाली नाम्लो र दाम्लो बाटेर दैनिकी टार्ने गर्छिन् कली । 

रामेछापबाट १४ वर्षको उमेरमा विवाह गरेर सिन्धुली आएकी कली माइती हुँदादेखि नै दाम्लो बाट्ने गरेको र आफूले जानेको सिपलाई निरन्तरता दिएको बताउछिन् । ‘विवाह भएको एक वर्ष दिन नपुग्दै जेठो छोरा जन्मियो । श्रीमानको जागिर थिएन । खेतीपातीबाट बिहानबेलुका छाक टार्नसमेत धौधौ हुन्थ्यो’, उनले भनिन्, ‘आफ्नो र परिवारको दुई छाक भोक मेटाउन माइतीमा गर्दै आएको दाम्लो बाट्ने काम यहाँ आएर पनि गर्न थालेँ ।’

दाम्लो नै आफ्नो आयआर्जनको दरिलो माध्यम भएको कलीले बताइन् । ‘माइतिमा ८०÷९० वटा बाख्रा थियो । ति सबैलाई मैले नै दाम्लो बनाउथेँ । त्यतिबेला त गाउँका मान्छेहरू आफ्नो बाख्राका लागि आफैँ दाम्लो बनाउँथे’, विगत सम्झँदै कलीले भनिन् । 

सातवटा छोराकी आमा कलीसँग अहिले तीन जना मात्र छोरा छन् । चार भाइ छोराले भने संसार छोडिसकेको उनले सुनाइन् । छोराहरू छुट्टिएपछि पाँच वर्षसम्म कली एक्लै बसिन् । स्वास्थ्यमा समस्या आएपछि अहिले जाहानटोलमा ठूलोकान्छो छोराबुहारीसँगै बस्छिन् ।  कान्छा छोरा काठमाडौमा बस्छन् भने काइँला छोरा नजिकै छन् ।

उनले अहिले दिनमा दुईवटा दाम्लो बाट्छिन् । आफूले बाटेको दाम्लो गाउँमा बिक्री गर्छछिन् । ‘कति त घरमै किन्न आउँछन् । आफैँ पनि गाउँमा लगेर बिक्री गर्छु’, कलीले भनिन् । 

घरबाट आधा घण्टाको बाटो हिँडेर दोमान, डाँडाटोललगायत छिमेकी गाउँमा दाम्लो बेच्न जाने गरेको उनले सुनाइन् । एउटा दाम्लोको २५ र नाम्लो ५० रुपैयाँमा बिक्री गर्छिन् ।  

कली वृद्धभत्ता पनि लिन्छिन् । तर, त्यो पैसा भने औषधिमूलोमै खर्च हुने गर्दछ । ‘बाथरोग छ । वृद्धभत्ताको पैसा त औषधिमै खर्च हुन्छ’, कलीले भनिन्, ‘आफूलाई खान मन लागेको कुरा भने दाम्लो बेचेको पैसाले पुगेको छ । यही अगाडि एउटा पसल छ । त्यहाँबाट बिस्कुट चाउचाउ लिएर आउँछु । भोक लागेको बेला घरमा बसेर कुटुकुट खान्छु ।’


कलीलाई अझै केही वर्ष बाँच्छु भन्ने आत्मविश्वास छ । ‘केही नबाँचे पनि आठ दश वर्ष त बाँच्छु होला । अझै पाँच सात वर्षसम्म त दाम्लो बनाएरै बेच्न सक्छु जस्तो लाग्छ’, कलीले भनिन्, “ऊ बेला सुकामाना घिउ खाएको तागत छ मसँग । अहिलेका मान्छे जस्तो विषादी हालेको खाने कुरा खाएनौँ । त्यसैले म त अझै धेरै वर्ष बाँच्छु ।’

कली गाउँकै सबैभन्दा बढी उमेर भएकी वृद्धा समेत हुन् । जाहानटोलमा नाम्लो र दाम्लो बाट्ने कली मात्र होइन । ८७ वर्षीया भद्रमाया मगर पनि नाम्लो र दाम्लो बाटेर आफूलाई खान मन लागेको कुरा खाने गर्छिन् । सिमेन्टका बोरा र चामल ल्याएका बोरा जम्मा गरेर बोराको धागो निकाली  नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् ।

‘तल्लो घर बनाउँदा सिमेन्ट ल्याएको थियो । त्यहीबाट यो बोरा जम्मा गरँे’, उनले भनिन्, ‘पहिले त जंगल गएर भोर्लोेको पाट ल्याएर नाम्लो बनाउथेँ ।’

अहिले जंगल जान नसके नि विभिन्न सामान ल्याएको बोराको धागो निकालेर नाम्लो र दाम्लो बनाउने गरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बेचेर घर खर्चमासमेत सहयोग गर्छिन् ।  ‘कहिले काहीँ दाम्लो बेचेको पैसाले घरमा तरकारी ल्याउँछु’, उनले भनिन्, ‘अस्तिको पैसाले मासु र टमाटर ल्याएँ ।’

छोराछोरीको कमाइको आस गर्नु नपरेको उनले सुनाइन् । भद्रमायाले नाम्लो र दाम्लो बचेर केही पैसा बिरामी अथवा केही समस्या परेमा खर्च गर्नलाई जम्मा गरेर राखेको बताइन् । 

कली र भद्रमाया नाम्लो र दाम्लोसँगै बनाउँछन् । बनाएको नाम्लो र दाम्लो बेच्न दोमान, डाँडाटोल, सरकारी टोलसम्म पुग्छन् । एउटा नाम्लोको ५० रुपैयाँ र दाम्लो २५ रुपैयाँमा बेच्छन् । दुवै जना दाम्लो बेचेको पैसाले आफुृलाई खान मन लागेको सामान ल्याउँछन् ।  

‘कली मेरो दिदी पर्छ । हामीसँगै नाम्लो र दाम्लो बेच्न जान्छौँ’, भद्रमायाले भनिन्, ‘उता दिदीको घरमा बोरा धेरै छ भने कहिले काहीँ मलाई दाम्लो बनाउनको लागि पनि दिनुहुन्छ ।’

पहिले नाम्लो बनाउनको लागि भोर्लोको पाट लिन कली र भद्रमायासँगै जंगल जान्थे । दुवै जना सँगै बसेर नाम्लो र दाम्लो बाट्ने गर्छन् । ‘कली अहिले राम्रोसँग आँखा देख्नुहुन्न । नाम्लो बनाउ चाहिँ यहीँ आउनुहुन्छ’, भद्रमाया भन्छिन्, ‘मैले नाम्लो बाट्न सहयोग गर्छु । एउटा नाम्लो बाट्न सहयोग गरेबापत कहिले ५ रुपैयाँ, कहिले १० रुपैया दिनुहुन्छ ।” 

कली र भद्रमायाकोे मिहेनत देखेर स्थानीय तहले उनीहरूलाई सम्मान गरिसकेको छ । वृद्धा अवस्था भए पनि उमेरको कुनै प्रवाह नगरी आफ्नै मिहेनतबाट जीविकोपार्जन गरिरहेको भन्दै कली र भद्रमायालाई कमलामाई नगरपालिकाले, वडा, विभिन्न संजालले सम्मान गरेको कलीको ठूलो कान्छी बुहारीले बताइन् । 

कमलामाई नगरपालिकाले यस आर्थिक ०७८÷७९ मा ‘बा आमाको मुस्कान नगरपालिकाको मुस्कान’ कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रमअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकलाई पुरै दाँत निशुल्क हाल्ने व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १०० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान र स्वास्थ्यलाई ध्यान दिँदै दैनिक एक लिटर दुध उपलब्ध गराइने उल्लेख छ । हाल नगरले १०० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको विवरण संकलन गरिरहेको छ । हालसम्म संकलित विवरणअनुसार नगरभित्र १०० सय वर्ष उमेर कटेका जम्मा २१ जना ज्येष्ठ नागरिक छन् ।