काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहका संवादसचिव डा. फणी पाठकलाई प्रहरीले ‘श्री ५ महाराजधिराज’ सम्बोधन नगर्ने सर्तमा छाडेको छ ।

संविधान विपरीत शैलीमा राजसंस्थाको भ्रम सिर्जना गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई शुक्रबार बिहानैदेखि जिल्ला प्रहरी परिसर काठमाडौंमा सोधपुछ गरिएको थियो ।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, पाठकलाई संविधानसम्मत भाषा र अभिव्यक्ति प्रयोग गर्ने प्रतिबद्धता सहित परिवारको जिम्मामा पठाइएको हो ।

पूर्वराजाको सचिवालयबाट निरन्तर राजसंस्थाको पुनर्स्थापनाको संकेत दिने किसिमका अभिव्यक्ति सार्वजनिक भइरहेपछि सो विषय संसदसम्म उठेको थियो ।

सोही सन्दर्भमा पूर्वराजाको सचिवालयका नाममा सार्वजनिक हुने वक्तव्यहरूमा ‘श्री ५’ जस्ता राजकीय सम्बोधन प्रयोग हुनु संवैधानिक मर्यादाविपरीत भएको भन्दै प्रहरीले सोधपुछ थालेको हो ।