काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र प्रदान गर्ने भएको छ । 

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी गराएका हुन् । 

'भोलि बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,' प्रवक्ता भट्टराईले  भने । 

भट्टराईले प्रमाणपत्र वितरणपछि बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए । 

त्यसपछि राष्ट्रपति पौडेलले पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताइएको छ ।  

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन सम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ । 

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेस १८, नेकपा एमालेले ९,नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रले १ सिट जितेको छ ।

समानुपातिकतर्फ भने राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा  प्रतिनिधिसभामा ११० सांसद रहने प्रावधान रहेको छ। 

जसअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिलेर राप्रपाले ४/४ सिट प्राप्त गरेका छन् ।