ओलीलाई उपेन्द्रको अन्तिम अल्टिमेटम
काठमाडौं - सत्तारुढ दल समाजवादी पार्टीले असार मसान्तभित्र संविधान संशोधन गर्न अल्टिमेटम दिएको छ । अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सरकार छोड्ने अल्टिमेटम दिएका हुन् ।
शनिबार अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई भेटेर १७ महिनाअघि भएको समझदारी सम्झाएको बालुवाटार स्रोतले बताएको छ । यादवले ओलीलाई असार मसान्तभित्र संविधान संशोधन गर्न समयसीमा दिएका छन् ।
तत्कालीन संघीय समाजवादी फोरमले तत्कालीन एमाले अध्यक्ष केपी ओलीसँग संविधान संशोधन गर्ने सहमतिका साथ १७ महिनाअघि सरकारमा जाने निर्णय गरेको थियो । संविधान संशोधन नहुँदा पनि निरन्तर सत्तामा रहेको भन्दै उपेन्द्र मधेस र पार्टीभित्रै आलोचित हुँदै आइरहेका छन् ।
तत्कालीन नयाँ शक्ति पार्टीसँग एकता हुने बेला पनि सरकार छाड्ने सहमति भएकोले यादवलाई सत्ता छाड्नुपर्ने दबाव छ । मधेसमा आधारित राष्ट्रिय जनता पार्टीले पनि पार्टी एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने शर्त राख्दै आएको छ ।
सरकारलाई संविधान सशोधनको अल्टिमेटसँगै समाजवादी पार्टीले तत्कालीन सहमतिअनुसार नेकपा र समाजवादी पार्टीले कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग पनि गरेको छ।
फेसबुक पेज Like गर्नुहोस