काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ । बैठकमा संसद विघटन, चुनाव घोषणालगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको छ ।

आइतबार पनि कांग्रेस, नेकपा र जसपाका नेताहरुको संयुुक्त बैठक बसेको थियो । बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी छन् ।

यस्तै, संसद विघटनको विरोध गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका छन् ।