काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावीसहित सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सुरु भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

बुधबार रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस नसकिएपछि मुद्धा 'हेर्दाहेर्दै' को अवस्थामा राखिएको थियो । बहस नलम्बिए आजै फैसला हुने सम्भावना रहेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध रिट दायर गरेका थिए । रिटमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बदर गर्न, उनलाई मन्त्री बनाउनबाट रोक्न र राष्ट्रिय सभामा गरिने नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गरिएको छ ।