काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् ।

शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको बताइन् ।

एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यता समेत नवीकरण गरेकी भण्डारीले भनिन्–‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो ।’

वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई सवास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नु आजको आवश्यकता रहेको बताउँदे उनले भनिन्–‘जसरी संस्कृतिमा रहेको वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया’ले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुःख नहोस् भनि यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’