काठमाडौं -  देशका ६३ जिल्लामा करिब सात सय जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार ६६६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो ।

गत वैशाख ३० देखि सुनसरीबाट फैलिएको डेंगु संक्रमण नरोकिएको अवस्थामा थप अर्को किटजन्य रोग स्क्रब टाइफस देखिँदा सरकारलाई चुनौती थपिएको छ । पछिल्लो आठ महिनामा सबैभन्दा बढी प्रदेश ५ मा यसको संक्रमण देखिएको छ । उक्त प्रदेशमा २३७ जनामा संक्रमण देखिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा आठ जनामा देखिएको छ ।

त्यस्तै, प्रदेश ३ मा २०४ जनामा संक्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेशमा १२३ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा ५१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । प्रदेश २ मा २२ जनामा संक्रमण देखिएको छ भने प्रदेश १ मा १८ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ ।