काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको बाजुराको अस्पतालमा आइसोलेशनमै उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।

उनको धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

८ दिनअघि उनको परिवार भारतबाट आएको थियो । भारतबाट आएका उनीहरुको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।