काठमाडौं - प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक जना भारतीय शंकास्पद युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा २०७५ साल ११ गते साउन १३ वर्षीया बालीका निर्मलाको शव भेटिएदेखि त्यस स्थानबाट बेपत्ता भएका युवकलाई हालै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले भारतबाट अली थरका युवकलाई पक्राउ गरेर डीएनए जाँचको लागि नमूना लिएको प्रहरीले जनाएको छ ।

निर्मलाको बलात्कार गरी हत्या भएपछि कञ्चनपुरबाट एक जना भारतीय नागरिक हराइरहेको र उनलाई लामो समयदेखि खोजी गरिरहेको प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।

निर्मला पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको उनले बताए । नेपाल आउने बित्तिकै डीएनए परीक्षणको लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको तर रिपोर्ट नआइसकेको उनको भनाइ छ ।

प्रारम्भिक सोधपुछमा भने उनले इन्कारी बयान दिएको बताइएको छ । अनुसन्धानमा रहेका अधिकृतका अनुसार उनले निर्मलालाई जिस्काउने गरेको भन्दै विभिन्न व्यक्तिहरुले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा प्रहरीले अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको उनले बताए ।