प्रधानमन्त्री ओलीलाई २ दिन पर्खिने नेकपा सचिवालयका बहुमत सदस्यको निर्णय
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयका बहुमत सदस्यहरुले सचिवालय बैठक बस्नको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुईदिन पर्खिने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले २७ गते ओलीसहितको बैठक बस्ने निर्णय गरेको हो । धुम्बाराहीमा बहुमत सदस्यहरुको बैठक बस्नु अगाडि आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरेका थिए ।
उक्त छलफलमा २७ गते बैठक बोलाउन प्रस्ताव गर्दा ओलीले सहमति नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “प्रचण्ड २७ गते बैठक बस्छ भनेर आउनु भएको छ । प्रधानमन्त्री बैठकमा आउनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौं । आउनु हुन्न भन्ने प्रश्न छैन” प्रवक्ता श्रेष्ठले भने । पर्सि पनि सचिवालय बैठक बसेन भने के गर्ने भनेर आफूहरुले नसोचेको श्रेष्ठले बताए ।
पछिल्लो समय नेकपामा आन्तरिक विवाद चुलिँदै गएको छ । बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउन आग्रह गरिरहेका छन् भने ओली त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस