काठमाडौं - पद तथा गोपनीयताको शपथपछि सोमबार साँझ बसेको काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न मेयर र उपमेयरको नेतृत्वमा कार्यदल बनाएको छ ।

बैठकले सडकका खाल्टाखुल्टी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम गर्नेगरी दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले सोसम्बन्धी प्रस्ताव गरेका थिए भने उनको प्रस्तावलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

यसैगरी, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णयसमेत गरेको छ । सो कल सेन्टर सात दिनभित्र स्थापना गरिनेछ ।

बैठकमा मेयर साहले निजी रेस्टुरेन्ट, होटल तथा पेटोल पम्पका शौचालयलाई सरोकारवाला पक्षसँगको सहकार्यबाट निःशुल्क रूपमा सञ्ञ्चालनमा ल्याउने विषयलाईसमेत प्रस्तावका रूपमा अघि सारेकोमा त्यसलाईसमेत बैठकले अनुमोदन गरेको छ ।

बैठकका क्रममा मेयर साहले केही ठूला रेस्टुरेन्टहरूसँग सार्वजनिक उत्तरदायित्वअन्तर्गत निःशुल्क शौचालय सञ्चालन गर्ने विषयमा कुराकानी भएको भन्दै बैठकमा सो प्रस्ताव राखेका थिए । उनले फोहोर मैला व्यवस्थापन नभएसम्म आफूले माला खादा नलगाउने घोषणासमेत गरेका थिए ।

राजधानी दैनिकबाट