काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना दिएको छ । 

उक्त पत्रमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास दिलाएको उल्लेख छ । 

सीपीसीले औपचारिक पत्र पठाएर बधाई दिएको रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प गरिएको खनालले जानकारी दिएका छन्। 

पत्रमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेको छ। दुवैको नेतृत्वमा रास्वपाले नेपाल-चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको खनालले बताए।