एजेन्सी - फिलिपिन्सका राष्ट्रपति रिड्रिगो डुटटेर्लेले लुजोनको टापुमा कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन अवज्ञा गर्नेमाथि गोली चलाउन आदेश दिएका छन् ।

लकडाउन पालना गर्न इन्कार गर्ने र सुरक्षाकर्मीसँग लफडा गर्न आउनेमाथि गोली चलाउन उनले सेना र प्रहरीलाई आदेश दिएका हुन् ।

‘यदि कसैले लकडाउन तोड्छ । सम्झाउँदा झगडा गर्न आउँछ भने गोली ठोक्नुस्’, डुटटेर्लेले बुधबार राति प्रसारित टेलिभिजन अन्तर्वार्तामा भनेका छन् ।

त्यसअघि बुधबार राजधानी मनिलामा लकडाउनका कारण समस्यामा परेका मानिसहरुको ठूलो समूहले खाद्यान्न माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रहरीले हस्तक्षेप गरी २१ प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीले सरकारले लकडाउनका बेला खाद्यान्न र अरु राहत सामग्री नदिएको आरोप लगाएका छन् ।