काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बहुमत सचिवालय सदस्यको बैठक बस्ने भएको छ ।

लिखित रुपमा सचिवालय बैठकको माग गर्दा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएको स्रोतले बताएको छ ।

यसअघि पनि प्रचण्डले अनौपचारिक सचिवालय बैठक बोलाएका थिए। उक्त बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए।

सो बैठकपछि उनीहरुले सामूहिक रुपमा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई दिनभित्र बैठक बोलाउन पत्र बुझाएका थिए । तर, ओलीले उनीहरुको अल्टिमेटम अस्वीकार गरेका छन् ।