काठमाडौं,मान्म - कोरोनाको कारण ९ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् ।

कालीकोटका नौवटा स्थानीय तहले आजदेखि नै सामुदायिक विद्यालयले पठनपाठनका लागि खुल्ला गरेका छन् । जिल्लाका तिलागुफा नगरपालिका, खाडाँचक्र नगरपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएका छन् ।

बालबालिकाको पढाइ लामो समय अवरोध भएको भन्दै स्थानीय तहले विद्यालय खोल्न शिक्षा समितिलाई आग्रह गरेपछि जिल्लाका नौ स्थानीय तहले औपचारिकरूपमा विद्यालय सञ्चालनमा ल्याएका हुन् ।

तिलागुफा नगरपालिकामा गत साउन १५ दिनसम्म विद्यालय खोलेको र बीचमा नगरपालिकाभित्रै ठूलो मात्रामा कोरोना संक्रमित देखिएका कारणले केही समय विद्यालय बन्द गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए ।

‘गाउँमा सामान्य ज्वरो आयो भने स्वास्थ्यकर्मी पठाउने, उपचार गर्ने र त्यो गाउँका बालबालिकालाई विद्यालयमा आउन केही दिन रोक्ने काम गरिन्छ, तर विद्यालय बन्द गरिने छैन’, उनले भने, ‘विद्यार्थीको भविष्यप्रति स्थानीय सरकार सचेत छ ।’

रास्कोट नगरपालिकाले पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलेको नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताए । ‘विद्यार्थीको पढाइ प्रभावित भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनेछ’, उनले भने, ‘नगरभरिका सबै विद्यालय खोल्न निर्देशन गरिएको छ ।’