काठमाडौं - नेपाली काँग्रेसले आगामी फागुन १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने तयारी गरेको छ।

सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी गराएका हुन् ।

प्रवक्ता चालिसेका अनुसार, अन्य प्रदेशमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको तर कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुंगिने छ । 

सभामा पार्टीका सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहित अन्य शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन्।

काँग्रेसले फागुन ६ गते जनकपुरमा मधेस क्षेत्रको सभा गरेर आफ्नो चुनावी कार्यक्रम सुरु गरेको थियो। त्यसपछि फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

पार्टीले अन्य प्रदेशहरूमा पनि ठूला चुनावी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।