काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा  गरेको छ ।  महासचिव नेत्रविक्रम चन्द विप्लवले  विज्ञप्ति जारी गर्दै सरकारविरुद्ध ४ बुँदाको व्याख्यासहित ५ दिने कार्यक्रम घोषणा  गरेको हो।  कात्तिक १५ मा ठाउँ ठाउँमा कोणसभा, १७ कात्तिकमा पर्चा वितरण र २० कात्तिकमा विरोध जुलुस निकाल्ने जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  

‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र  नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कारोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पुर्याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षण जस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो’, विज्ञप्तिमा भनिएको छ,‘यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ। हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विषेश माग गर्दछ।’ 

सरकार कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर अमानवीय बनेको समेत विप्लवले आरोप लगाएका छन्।