काठमाडौं - मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच आज सिंहदरबारमा पुनः वार्ता हुँदैछ ।
बिहीबार साँझ भएको प्रारम्भिक छलफलपछि दुवै पक्ष अन्तिम सहमतिनजिक पुगेकाले आजको वार्ताबाट औपचारिक सहमति हुने अपेक्षा गरिएको छ ।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरबाट न्यायको माग गर्दै काठमाडौँतर्फ मार्चपास सुरु गरेका थिए। तर, सरकारले उनीहरूलाई बाराको निजगढमा रोकेर वार्ताको प्रक्रिया अघि बढाएको थियो।
गृहमन्त्री सुधन गुरुङ स्वयं निजगढ पुगेर संघर्ष समितिका प्रतिनिधिसँग विभिन्न चरणमा वार्ता गरेका थिए। त्यसपछि अन्तिम सहमतिको टुंगो लगाउन संघर्ष समितिका पदाधिकारी बिहीबार काठमाडौं आइपुगेका छन्।
यद्यपि, आन्दोलनरत अन्य पीडितहरू भने अझै निजगढमै बसेर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। संघर्ष समितिकी सल्लाहकार सरस्वती मिश्रका अनुसार अन्तिम सहमति नहुँदासम्म आन्दोलनकारीहरूले खबरदारी जारी राख्नेछन्।
निजगढमा भएका वार्ताका क्रममा सरकारले मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ का रूपमा परिभाषित गर्दै त्यसविरुद्ध छुट्टै कानुनी संरचना र कडा कानुनी व्यवस्था निर्माण गर्ने विषयमा सकारात्मक सहमति जनाएको बताइएको छ। गृहमन्त्री गुरुङसँग निजगढमा भएको सहमतिलाई आज सिंहदरबारमा हुने वार्ताले औपचारिक र अन्तिम रूप दिने सम्भावना बलियो रहेको छ ।

.gif)



