काठमाडौं - निर्देशक साजिद बिग बोस १६ मा प्रवेश गरेदेखि नै विवादमा फसेका छन् । बिग बोस १६ बाट साजिदलाई निकाल्नुपर्ने माग बढ्दैछ । यसबीच अभिनेत्री शर्लिन चोपडाले साजिदविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

शर्लिनले साजिदविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । उजुरी दर्ता गरेपछि शर्लिनले पत्रकारसँग कुराकानी गर्दै यस विषयमा केन्द्रीय मन्त्री अनुराग ठाकुरसँग पनि कुरा गरेको बताइन् ।

कुराकानीका क्रममा शर्लिनले भनिन्, ‘म मी टु आरोपी साजिद खानविरुद्ध उजुरी गर्न आएको हुँ । हेर्नुहोस्, हामीले बिग बोससँग लामो समयदेखि साजिदलाई शोबाट बाहिर निकाल्नुपर्छ भनेर अनुरोध गर्दै आएका छौँ । तर हाम्रो मागलाई बेवास्ता गरिएको छ ।’ बिग बोस निर्माण पक्षले आफ्नो पीडालाई मजाक गर्न खोजेको उनको आरोप छ ।

शर्लिनले थप भनिन्, ‘अब हामीले हाम्रा केन्द्रीय मन्त्री अनुराग ठाकुरलाई पत्र पठाएर बिग बोस शोको टेलिकास्ट रद्द गर्न अनुरोध गरेका छौं । जबसम्म साजिद यो शोमा छन्, शो बन्द हुनुपर्छ ।’ शर्लिनको भिडियो हेरेपछि प्रयोगकर्ताहरूले बिग बोससँग साजिदलाई बाहिर निकाल्न अनुरोध गरिरहेका छन् ।

शर्लिन बाहेक धेरै महिलाले साजिदको विरुद्धमा आवाज उठाएका छन् । सन् २०१८ मा साजिदमाथि मी टु अभियानअन्तर्गत १० महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

जसकारण इन्डियन फिल्म एण्ड टेलिभिजन एसोसिएसनले साजिदमाथि एक वर्षको प्रतिबन्ध लगाएको थियो । यसबीच लामो समयपछि साजिद फेरि बिग बोसबाट पर्दामा फर्किएका छन् । तर बिग बोसमा प्रवेश गर्नेबित्तिकै विवाद सुरु भयो । साजिद शोमा आएको भन्दै धेरै चलचित्रकर्मीहरूले आपत्ति जनाएका छन् ।