काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध जनाउँदै ओली सरकारको के हो चाला भन्दै प्रश्न गरेका हुन् ।

‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार ? ओली सरकारको के हो चाला ? रामचन्द्र पौडेलकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक ? दालमा कालो देखियो है।’ भट्टराईले भनेका छन् ।

ब्यास नगरपालिकाको वडा नं १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखेला पुल उद्घाटन गर्न वरिष्ठ नेता पौडेल गृहजिल्ला तनहुँ पुगेका थिए । तर, पुल उद्घाटन रोक्न भन्दै नेकपा निकट युवा संघको ब्यानरमा दमौलीमा विरोध जुलुस निकालिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । पौडेललाई निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।