काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले शनिबार बिहान एक फेसबुक स्टाटस लेख्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका हुन् ।

स्टाटसमा पोखरेलले प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्ष ओलीविरुद्ध लागेको आरोपले पार्टी एकता गम्भीर मोडमा पुगेकोले उक्त एकल प्रस्ताव फिर्ता गरेर एकताको मर्मअनुरुप छलफललाई अघि बढाउन समेत आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओलीविरुद्ध बहुमतको निर्णय नमानेको आरोप लगाएका थिए । बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीको सोच कम्युनिष्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको समेत उल्लेख गरेका थिए।

त्यस्तै, ओलीले पनि कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाएका प्रचण्डले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गरे भनेर प्रचण्डलाई प्रश्न गरेका थिए ।

ओली खेमाका पोखरेल काठमाडौँ आएर ओलीको दूतको रुपमा बिभिन्न नेताहरुसँग छलफल गरिरहेका छन् । पार्टीमा चर्को विवाद हुनेबित्तिकै उनी काठमाडौँ आएर राजनीतिक परामर्शमा लाग्ने गरेका छन् ।