संखुवासभा हत्याकाण्डका हत्या आरोपीको बयान: जिस्काउँथे, हेप्थे त्यसैले आवेगमा आएर हत्या गरेँ
काठमाडौं -सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी कार्की परिवारका नातामा भतिजा पर्छन् ।
प्रहरीले लोकबहादुरलाई शुक्रबार पक्राउ गरेको हो । मृतकको घर र लोकबहादुरको घर सय मिटरको दुरीमा छ। लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिए । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको बताइएको छ ।
लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरेको प्रहरीको भनाई छ । उनले कार्की परिवारले ‘हेपेका कारण’ आफुले हत्या गरेको स्विकारेका छन् । ‘ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे । पागल भनेर जिस्काउँथे, हेप्थे त्यसैले आवेगमा आएर हत्या गरेँ ।’ लोकबहादुरले बयानको क्रममा भनेको भनाई उदृत गर्दै एक उच्च प्रहरी अधिकृतले भने ।
लोकबहादुर धेरै पटक प्रयास गर्दासमेत विदेश जान सकेका थिएनन् । उनमा विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । प्रहरीका अनुसार कार्कीले डिप्रेशनको औषधि खाइरहेका थिए ।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो । प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस