काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाट असहयोग हुँदा सोचे जस्तो काम गर्न नसकेको बताएका छन् । बिहिबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो बताएका हुन् ।

सरकारमाथि पार्टीभित्रबाट चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको समेत बताए ।

‘पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने ।

उनले कुनै पनि हालतमा राजीनामा नदिने पनि दोहोर्याएका छन् । ती मन्त्रीले ओलीको भनाई उदृत गर्दै भने, 'म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ ।'

प्रधानमन्त्री ओलीले बुधबार त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा पनि आफुले राजीनामा नदिने र दिएको खण्डमा देश बर्बादीतिर जाने बताएका थिए ।

उनले भनेका थिए, “तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ रु मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो । अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन जनताको आवश्यकताले हो ।”

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उनले भनेका थिए, “म यहाँसम्म आइपुगेको जालजेलबाट होइन, व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृतिहरु छन् । त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौ, स्थिरताका विकासका लागि हो ।”

पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटीमा उत्पन्न विवाद, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।